आधारभूत मिल्क एनालाइजर तालिम सकियो

0
61

१९ मंसिर चितवन । दुग्ध उत्पादक सहकारी संस्थाका प्रतिनिधि तथा कृषकलाई लक्षित गर्दै प्रदान गरिएको आधारभूत मिल्क एनालाइजर तालिम सकिएको छ ।
दूध खरिद बिक्री गर्दा मिल्क एनालाइजरमा समस्या देखिएमा किसान तथा सहकारीलाई घाटा हुने भन्दै प्राविधिक कुराहरु जान्नुपर्ने भएकाले तालिमको सञ्चालन गरिएको थियो । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको आयोजनामा भएको तीन दिने तालिमको बिहीबार समापन गरिएको हो ।
तालिममा दूधको गुणात्मक, उत्पादन वृद्धि जस्ता विषयहरु जानकारी गराइएको संघका केन्द्रीय उपाध्यक्ष रामेश्वर पोखरेलले बताए । संघ आफैंले तालिम दिनसक्ने हैसियत नभएपनि विभिन्न निकायसँग सहकार्य गर्दै देशभरि विभिन्न तालिम प्रदान गरिरहेको पोखरेको भनाइ छ ।
दूध किसानहरुलाई लक्षित गर्दै तालिमलाई निरन्तरता दिइने उनले बताए । समापन कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर दयाराम चापागाईंले दूधको गुणस्तरमा ध्यान दिन आग्रह गरेका छन् ।
तालिमका प्रशिक्षार्थी झलकप्रसाद ढुंगानाले कर्मचारीले संस्था र किसान दुवैलाई जोगाउन पर्ने भएका यसप्रकारको तालिम नियमित आवश्यक पर्ने बताए । तालिमले छोटो अवधिमा धेरै कुरा सिकाएको उल्लेख गर्दै ढुंगानाले एनालाइजरको प्रयोग र यसमा आउने समस्या बारे प्रयोगात्मक प्रशिक्षण पाउँदा सिकाइ प्रभावकारी भएको बताए ।
सो कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका सचिव किशोर बगालेले भारतबाट दूध र पाउडर दूध ल्याउन चलखेल भइरहेको भन्दै सम्पूर्ण किसानहरुले यसको विरोध गर्नुपर्ने बताए । नेपालका लागि आवश्यक पर्ने दूध यहीँका किसानले उत्पादन गर्न सक्ने उल्लेख गर्दै बगालेले नेपालका लागि आवश्यक पर्ने दूधको सरकारले तथ्यांक दिनुपर्ने बताए ।
बाहिरबाट दूध आउँदा मिल्क होलिडेको अवस्था सिर्जना हुने र पशुपालन व्यवसाय नै धराशायी हुने बगालेको भनाइ छ । सो कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष इन्द्रविलास कोइराला, अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष ऋषिराम चापागाईलगायतले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरेका थिए ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका सदस्य हरि अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।