साइकल र समाज

0
46

रुकमिनी सापकोटा
चितवन । साइकलको इतिहास धेरै पुरानो छ । साइकल देख्दा साधारण भएता पनि यसको आविष्कार त्यति सजिलो थिएन । जब साइकलको आविष्कार भयो, यो धेरै लोकप्रिय आविष्कारको रुपमा गनियो । पहिले आविष्कार भएको साइकल र अहिले हामीले प्रयोग गर्ने साइकलमा धेरै भिन्नता छ । सन् १४१८ मा एक इटालियन इन्जिनियरले मानव सन्तुलित बाहन जसको बनाए जसको ४ वटा पांग्रा थियो । यसको ४ सय वर्षपछि अर्थात १८१३ मा जर्मनीका कार्लस ड्रेसले ४ वटा पांग्रा भएको साइकल बनाए । त्यसपछि साइकलको विकास हुने क्रम सुरु भयो ।
आजको समयमा इन्जिनयुक्त यान्त्रिक साधनको बढ्दो प्रयोगले गर्दा साइकलको प्रयोग घटेर गएको छ । तर यसको महत्व भने कहिले घटेन । पछिल्लो समय पेट्रोल र डिजेलले चल्ने बाहनहरुले धेरै प्रदूषण गरिरहेको सन्दर्भमा फेरि साइकलको लोकप्रियता बढ्दै गएको छ । नेदरल्याण्ड जस्तो विकसित देशमा साइकललाई विशेष महत्व दिइएको छ ।
नेपालको साइकल राजधानी भनेर चिनिने चितवनमा केहि समयअघि सम्म साइकलको महत्व धेरै थियो । चाहे त्यो दुध बेच्न होस्, तरकारी बेच्न होस् वा अफिस तथा काममा जाँदा होस् । तर बढदो सहरीकरण र आधुनिकीकरणको कारण यसको प्रयोग घट्दै गएको देखिन्छ । अहिले पनि विभिन्न वित्तीय संस्थामा काम गर्ने व्यक्ति, पत्रिका बाँड्ने व्यक्ति र केही दैनिक कामकाजमा जाने व्यक्तिहरुले साइकलको प्रयोग गरिरहेका छन् । तर स्कुल, कलेजमा अध्ययनरत अधिकांश युवा पुस्ता भने विभिन्न किसिमका मोटरसाइकलप्रति आकर्षित भएका छन् ।
पछिल्लो समय संसारका विभिन्न देशहरुमा साइकलको प्रयोग बढिरहेको छ । चिन, नेदरल्याण्ड, भारत जस्ता देशमा साइकल प्रयोग गर्ने चालक राम्रो देख्न सकिन्छ । साइकल चलाउन डिजल तथा पेट्रोलको आवश्यकता नहुने र यसको प्रयोगले पर्यावरणलाई जोगाउन सहयोग गर्छ । अहिले विशेष गरी नेदरल्याण्डमा साइकल र यसबाट हुने फाइदा स्वास्थ्य र पर्यावरण भन्ने नाराका साथ उच्च ओहोदामा रहेका सरकारी तथा सामाजिक संस्था र समाजमा रहेका व्यक्तिले आफ्नो नजिकका कामहरु गर्न साइकल नै प्रयोग गर्ने गरेका छन् ।
हाम्रो देश हिमाल, पहाड र तराइ मिलेर बनेको छ । अझ हाम्रो देशमा साइकल र यसको महत्वको बारेमा सरकारी तवरबाटै बढावा दिन सकियो भने विदेशीहरु साइकिलिङ गर्नको लागि मात्र हिमाल, पहाड आउनेछन् । यसले हाम्रो पर्यटन क्षेत्रमा उल्लेख्य फाइदा पुग्न सक्ने देखिन्छ । नेपालका सुन्दर भुभागमा जानको लागि साइकल लेन विकास गर्न सके साइकल चालकको पनि नेपाल पर्यटक नगरी बन्न सक्छ ।
अहिले नेपालमा पनि साइकल चलाउने विभिन्न क्लबहरु गठन भएका छन् र सो क्लबले पनि साइकल चलाउन प्रोत्साहन गरिरहेका छन् । साइकललाई मनोरञ्जन र स्वास्थ्यसँग मात्र नजोडी एउटा असल साथी, आफ्नो सारथी पनि बनाउन सके साइकल चलाउनको लागि छुट्टै समय निकाल्नु पर्दैन ।
दैनिक जीवनमा गरिने क्रियाकलापमा साइकल प्रयोग गर्न सकियो भने मात्र पनि मधुमेह, मुटुरोग, तथा मोटोपनबाट लाग्ने रोगबाट बच्न सक्छौं । हामी शहरका व्यक्तिहरु आफ्नो स्वास्थ्यको ख्याल गर्दै विभिन्न व्यायामशालातिर समय खर्च र पैसा खर्च गरिरहेका छौं तर त्यो समयभन्दा थोरै समय दैनिक जीवनमा साइकल चलायांै भने समय र पैसा दुवैको बचत हुने देखिन्छ । साइकल चलाउँदा शरीरको मांसपेशी बलियो हुने, मुटुको रोग नलाग्ने, वजन घट्ने, रोग प्रतिरोधात्मक शक्ति बढ्ने, तनाव घट्ने आदि इत्यादिबाट फाइदा लिन सकिन्छ ।
बढ्दो सहरीकरणको कारण अहिले हामी मात्र होइन हाम्रा १६÷१७ वर्षका बच्चाहरुलाई मोटरसाइकल चलाउन प्रोत्साहन गरिरहेका छौं । त्यसैगरी हामीले ठूलो राशी मोटरसाइकल किन्नको लागि खर्च गरिरहेका छौं । जसले गर्दा अहिले कलेज पढ्ने भाइ बहिनीहरुको सबैभन्दा बढी दुर्घटना भएको तथा कलिलो उमेरमा ज्यान गएको समाचार सुन्न परिरहेको छ । हामीले मोटरसाइकल होइन उनीहरुको मृत्यु किनिदिएको जस्तो भइरहेको छ ।

राज्यबाट, स्थानीय सरकारबाट, संघसंस्थाहरुबाट स्कुलैदेखि बच्चाहरुलाई साइकल र यसबाट हुने फाइदाबारे बुझाउन स्कुल तथा कलेजमा बेलाबेलामा विभिन्न कार्यक्रम राखी बच्चाहरुलाई साइकलप्रति चाख बढाउन सकियो भने त्यो नै हाम्रो जित हुनेछ ।

म एक शिक्षिकाका साथसाथै साइकलप्रेमी पनि हुँ । मेरो सोचाइ साइकल खाली बिहान चलाउने साधनको रुपमा नबनाइ दैनिक सम्भव भएसम्म प्रयोग गर्न प्रोत्साहन गर्दछु । स्कुल कलेजले पनि साइक चलाएर आउने विद्यार्थीहरुलाई केही सहुलियत दिन सकेमा, कलेज आउँदा मोटरसाइकल प्रयोग गर्न रोक लगाउन सकेमा साइकलप्रति विद्यार्थीलाई चासो बढ्ने थियो साथै दुर्घटनाको दर पनि कम हुने थियो ।

वर्तमान समयमा महंगो साइकल चलाउनेलाई मात्र साइकल यात्री भनेर दर्जा दिइरहेको देखिन्छ । सबै खालको साइकल एउटै हुन् र सबैलाई खुट्टाले नै चलाउनु पर्दछ । केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारले पनि साइकल चलाएर अफिस आउने जाने व्यक्तिहरुलाई पुरष्कृत गर्न सक्नु पर्दछ । राइडर्स क्लबले पनि सबैखाले साइकल चालकलाई समेट्न सकियो भने अझ साइकल यात्रीहरुलाई प्रोत्साहन मिल्ने थियो र यसप्रतिको आकर्षण बढ्ने थियो ।

मंसिर २० गते उद्योग वाणिज्य संघबाट हुने साइकल ¥यालीले पनि महानगरपालिकालाई साइकल लेन बनाउन दबाब पक्कै दिनेछ । उद्योग वाणिज्य संघले पहल गरेको र अन्य संस्थाहरु आबद्ध भएर गर्न खोजिएको कार्यक्रमलाई म धन्यवाद दिन चाहन्छु ।

यहि आउँदो शनिबार मंसिर २१ गते बालकुमारी अलुम्नीले साइकल ¥याली गर्दैछ । सो साइकल ¥यालीको मुख्य उद्देश्य ससाना उमेरदेखि नै बालबालिकालाई साइकलप्रति चाख बढोस् भन्ने नै हो । बालकुमारी अलुम्नीले आयोजना गर्न लागेको साइकल ¥यालीप्रति म आभारी छु र म चाहन्छु सो ¥यालीमा साधारण साइकल चलाउने चालक पनि उपस्थित भएमा अझ सुनमा सुगन्ध हुने थियो । यो कार्यक्रमले जनमानसमा वातावरण र स्वास्थ्यका लागि साइकल चलाउनु पर्छ भन्ने नारा दिनेछ । यस्तो कार्यक्रम गर्न खोजिएकोमा बालकुमारी अलुम्नीलाई धेरै धेरै बधाई र धन्यवाद दिन चाहन्छु ।

अन्तमा मैले समाजमा रहेका थोरै मात्र व्यक्तिलाई पनि साइकलप्रति मोह जगाउन सकेँ भने आफू सफल भएको ठान्नेछु ।