चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु

0
69

चितवन । चितवनको भरतपुरमा आजदेखि चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गरेका छन् ।
प्रदर्शनीको उद्घाटन गर्दै भट्टले उद्योगको विकासमा देखिएका समस्यासँगै समाधानका उपाय पनि सँगै लिएर आउन उद्योगी व्यवसायीलाइ आग्रह गरेका छन् । मन्त्री भट्टले अब चाँडैनै उद्योग विकासका ठोस योजना सार्वजनिक गर्ने बताएका छन ।

आफुले हिजोबाट मात्रै जिम्मेवारी सम्हालेकाले आवश्यक गृहकार्यपछि उद्योग विकासका लागि ठोस योजनाका साथ काम सुरु गर्ने बताए । कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कृषिमा आधुनिकीकरणविना मुलुक आत्मनिर्भर बन्ननसक्ने बताए । अहिले कृषिका आधुनिक यन्त्रहरु भारत र चीनबाट आउने गरेको भन्दै अब नेपालमै उत्पादन गर्नुपर्नेमा जोड दिए ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यस प्रदर्शनीबाट भरपुर फाइदा लिन सबैसँग आग्रह गरिन् । कृषिमा आधुनिक यन्त्रको प्रयोग गरी व्यवसायिक बनेमात्रै कृषिमा परनिर्भरता कम गर्न सकिने दाहालले बताइन् ।
मंसिर ९ गतेसम्म चल्ने प्रदर्शनीमा विभिन्न २० वटा मुलुकका दुई हजार भन्दा बढी आधुनिक कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरु राखिएका छन् । प्रदर्शनीको ७० जिल्लाका ३५ हजार भन्दा बढी कृषकले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।
१० करोड रुपैयाँ भन्दा बढी रकमको कारोबार हुने अनुमान गरिएको प्रदर्शनीमा कृषक, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवम् गैह्र सरकारी संस्था, कृषक समुह, कृषि सहकारी संस्था, वैज्ञानिक, शिक्षक, विद्यार्थीहरुले अवलोकन गर्ने कृषि मेसिनरी व्यवसायी संघका महासचिव कृष्ण शर्माले बताए । कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्दन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश नम्बर ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनीमा एक सय ५० भन्दा स्टल राखिएका छन् ।
२०७० सालमा नारायणी नदी किनारवाट सुरु गरिएको प्रदर्शनी दोस्रो पटक २०७२ सालमा बाँके र तेस्रो प्रदर्शनी २०७४ सालमा धरानमा प्रदर्शनी गरीएको थियो । चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीको निशुल्क अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।