विद्यालयलाई वातावरणमैत्री बनाउन उच्च स्तरीय छलफल

0
34

चितवन ७ कार्तिक । सामुदायिक विद्यालयलाई हरियाली र वातावरणमैत्री बनाउन जारी गरिएको हरित विद्यालय कार्यक्रम कार्यान्वय निर्देशिका २०७५ को कार्यान्वयनका लागि विहीवार रत्ननगरमा अभिमुखिकरण कार्यक्रम गरिएको छ । तराई भूपरिधि कार्यक्रम तथा विद्यालय वातावरण संरक्षण शिक्षा संजाल नेपालको आयोजना र नेपाल सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्यमा भएको कार्यक्रममा बारा , पर्सा , मकवानपुर , चितवन र नवलपारासी जिल्लाबाट शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख,विद्यालयका प्रधानाध्यापक,इको शिक्षक लगायत गरि ७० जनाको सहभागिता रहेको थियो । शैक्षिक संस्थाहरु र वरपरको क्षेत्रमा व्यापक हरियाली विकासमार्फत पृथ्वीको बहन क्षमता अभिवृद्धि गर्न , वातावरण प्रदुषणबाट जैविक विविधतामा परेको असर न्यूनिकरण गर्न , शिक्षाका माध्यमबाट विद्यार्थी तथा आम जनसमुदायमा वातावरण मैत्री व्यवहार विकास गर्न, एक विद्यालय एक बगैयाँ तथा बृहत हरित क्षेत्र निर्माणको कार्यलाई प्रभावकारी रुपले अगाडी बढाउन जारी गरिएको निर्दे्शिकाको बिषयमा सरोकारवाला पक्षहरुलाई अभिमूखिकरण कार्यशाला गरिएको हो । अभिमुखिकरण कार्यक्रम पश्चात् चितवन प्रतिबद्धतापत्र समेत घोषँणा गरिएको छ । विद्यालय वातावरण संरक्षण शिक्षा संजाल (सेन्स) नेपालको कार्यक्षेत्र रहेको १३ वटा जिल्लाको ५ सय ४२ वटा विद्यालयमा निर्दे्शिका कार्यान्वयनको काम सुरु गरिएको सेन्स नेपालको चितवन अध्यक्ष ऋषि प्रसाद खनालले जानकारी दिए । निर्देशिकाले सामुदायिक विद्यालयमा इको क्लव गठन गरी सरसफाई गर्ने बृक्षारोपण गर्ने र सचेतना मुलक कार्यक्रमको आयोजना गरी सरसफाई र वातावरण संरक्षणको लागि जनचेतना अभिबृद्धि गर्नुपर्ने उल्लेख छ । सेन्स नेपालले निर्देशिका अनुुुसार १३ जिल्लाका सामुदायिक विद्यालयमा सो काम गरिरहेको चितवन अध्यक्ष खनालले बताए । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा प्रविधि मन्त्रालयका सचिव महेश प्रसाद दाहालले सामुदायिक विद्यालयलाई वातावरणमैत्री बनाउन निर्देशिका अक्षरस कार्यान्वयन गर्नुपर्ने बताए । कार्यक्रममा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतकले निर्देशिकाको कार्यान्वयन र सरोवारबालाको भूमिका,सेन्स नेपालका अध्यक्ष दिनेशचन्द्र गौतमले सेन्स नेपालको परिचय,संरचना,क्रियाकलाप र उपलब्धी तथा विश्व वन्यजन्तु कोषका भरत गोतामेले नेपालमा भू परिधि स्तरीय संरक्षण शिक्षा र सिकाई उपलब्धीको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । सेन्स नेपालको अध्यक्ष दिनेश प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा तराई भू परिधि कार्यक्रमका आयोजना प्रबन्धक मनोज कुमार शाह,नेपाल शिक्षक महासंघका चितवनका अध्यक्ष कोमलनाथ घिमिरे,रत्ननगर नगरपालिकाका प्रमख नारायण वन,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका महानिर्देशक बावुराम पौडेल लगायतले मन्तव्य राखेका थिए ।