रत्ननगरमा निजी संस्थाबाट फोहोर संकलन, मासिक शुल्क लाग्ने

0
107

रत्ननगर ४ कार्तिक । चितवनको रत्ननगर नगरपालिकामा निजी संस्थाले फोहोर संकलनको काम सुरु गरेको छ । फोहोर संकलन र व्यवस्थापनको काम खर्चिलो बन्दै गएपछि सो नगरपालिकाले निजी संस्थालाई काम गर्ने जिम्मेवारी दिएको हो । फोहोर संकलन र व्यवस्थापनको लागि श्रीमाता कंकालीमाई उद्योग प्रा.लि. काठमाडौंसंग नगरपालिकाले १६ बुँदे सम्झौता गरेर काम गर्ने जिम्मा दिएको प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलले जानकारी दिए । प्रा.लि.ले कार्तिक १ गतेबाट फोहोर संकलनको काम सुरु गरेको छ । प्रा.लि.ले बार्षिक १० लाख ६६ हजार रुपैया नगरपालिकालाई बुझाउने गरी फोहोर संकलनको जिम्मेवारी दिइएको उनले जानकारी दिए । रत्ननगरमा दैनिक करिब २५ टन फोहोर संकलन हुन्छ । नगरपालिकाले संकलित फोहोर पञ्चकन्या सामुदायिक वनमा रहेको डम्पीङ साइडमा लगेर राख्ने गरेको छ । डम्पीङ साइडमा राखिएको फोहोरलाई बर्गीकरण गर्ने, सडने र नसडने फोहोर छुट्याएर सडने फाहोरबाट कम्पोष्ट मल र नसड्ने फोहोर पुन प्रशोधन गरी विक्री गर्ने गरी सम्झौता भएको छ । रत्ननगरमा सरसफाई शुल्क वापत बार्षिक २२ लाख रुपैया संकलन हुने र फोहोर संकलनको लागि करिब एक करोड रुपैया खर्च हुदै आएको छ । मेयर नारायण वनले फोहोरलाई नयाँ ढंगबाट व्यवस्थापन गर्ने गरी निजी संस्थालाई जिम्मेवारी दिइएको बताए । फोहोर संकलनमा हुने खर्चले आर्थिक रुपमा ठुलो प्रभाव पारेको देखियो मेयर नारायण वनले भने बार्षिक रुपमा खर्च ७८ लाख रुपैया विकास निर्माणमा लगाउने छौं । प्रा.लि.का कार्यकारी निर्देशक सागर रावलले राम्रो काम गरेर रत्ननगरमा उदाहरणीय बन्ने दावी गरे । हामी राम्रो गर्न आएका हौं उनले भने राम्रो गरेर देआउछौं । गत कार्तिक १ गते उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत पोखरेल,सामाजिक विकास समिति अध्यक्ष केशव आचार्यले एक कार्यक्रमका बीच प्रा.लि.का कार्यकारी निर्देशक रावललाई सरसफाईका सामाग्री हस्तान्तरण गरी औपचारिक रुपमा फोहोर संकलनको जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

 निजी संस्थाले लिने सरसफाई शुल्क ः
आवासीय गाउँका घरले प्रति महिना २५ रुपैया,बजारका घरहरुले ३० रुपैया, पसल हाउजिङ कम्पनी,विद्यालय,औषधि पसल,पोल्टी फर्म,छापाखाना,बैंकले बजार क्षेत्रमा भए १०० , गाउँमा भए ७५ रुपैया, छात्रावास,ल्याव,सुपर मार्केट,कवाडी पसल,व्यूटिपार्लर,तरकारी पसल,डिपार्टमेन्टल स्टोर बजार क्षेत्रमा भए २०० र गाउँमा भए १५० रुपैया । हार्डवेयर पसल,होस्टेल,फ्रेसहाउस,मासु पसल बजार क्षेत्रमा भए ३०० र गाउँमा भए २२५ रुपैया, उद्योग,व्यवसाय ३०० देखि ६०० सम्म , होटल तथा रेष्टुरेष्ट २०० देखि १२ सय सम्म , सिनेमाहल,पोलिक्लनिक ५००, अस्पताल तथा निर्सिङहोम एक हजार, पार्टी प्यालेस तथा क्याटरिङ २ हजार , ठेला व्यापारीलाई मासिक १० रुपैया शुल्क तोकिएको छ ।