महरालाई पक्रन अदालतको अनुमति

0
21

काठमाडौं, असोज १९ । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले शुक्रबार आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् ।

अदालतले उक्त जाहेरीका आधारमा आइतबार पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको हो ।

न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

अदालतको अनुमतिसँगै महरालाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ । प्रहरीले महरालाई अब जुनसुकै बेला पक्राउ गर्नसक्छ ।

शाहीले आफूलाई बलात्कारको प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै महराविरुद्ध शुक्रबार उजुरी दर्ता गराएकी थिइन् ।

यही असोज १२ गते आइतबार राति आफ्नै कोठामा महराबाट आफूमाथि बलात्कारको प्रयास भएको र कुटपिटसमेत गरिएको भन्दै शाहीले एक अनलाइनलाई सोमबार बताएपछि घटना सार्वजनिक भएको थियो ।

शाहीले यस्तो बताएलगत्तै नेकपाको सचिवालय बैठकले महरालाई सभामुख र सांसद पदबाट राजीनामा गर्न निर्देशन दिएको थियो । तर, महराले सभामुखबाट मात्र राजीनामा दिएका छन् ।

अघिल्लो दिन महराले आफूलाई बलात्कार गरेको भनेकी शाहीले भोलिपल्ट भने उक्त दिन महरा आफ्नो कोठामै नआएको बताएकी थिइन् ।

पटक–पटक बयान फेर्दै आएकी उनले तीनकुने प्रहरी वृत्तमा महराबाट आफूमाथि केही नभएको भन्दै निवेदनसमेत दिएकी थिइन् । तर, शुक्रबार फेरि प्रहरीसमक्ष उनले उजुरी दर्ता गराएकी हुन् ।

यसअघि, पीडितको उजुरी नआएको र महराबाट आफूलाई केही नभएको भन्ने निवेदन परेकाले कारबाही गर्न नसकिएको प्रहरीले बताएको थियो ।

यद्यपि, घटना भएको तेस्रो दिन असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएको भनिएको रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्कँदा छुटेको जुत्ताको तलुवालगायत सामान बरामद गरेको थियो ।

जाँचका लागि ती सामान प्रहरीको ‘फरेन्सिक ल्याब’मा पठाइएको छ भने त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा शाहीको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।