राप्ती नगरपालिकामा बोयर जातको बोका वितरण

0
140

चितवन २६ असार । राप्ती नगरपालिकामा बुधवार बोयर जातको बोका वितरण गरिएको छ । राप्ती नगरपालिका पशु सेवा शाखाले बुधवार नगरका विभिन्न वडामा रहेका सहकारी तथा समुहलाई ५ वटा उन्नत जातको बोयर बोका वितरण गरेको हो । राप्ती १ स्थित एकता कृषि तथा वाख्रापालन समुह,राप्ती ६ स्थित मुडाभार चौधरी वाख्रापालन समुह,राप्ती १० र ११ स्थित कमिनचुली महिला वचत तथा ऋण सहकारी संस्था ,राप्ती ११ कै थाकलटार वाख्रापालन समुहलाई एक एक वटा बोका वितरण गरिएको राप्ती नगरपालिका पशु सेवा शाखा प्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिए । राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामा,राप्ती १ का वडाध्यक्ष सिद्धलाल स्यानतान,राप्ती ५ की वडाध्यक्ष मेनुका पाठकको उपस्थितीमा सहकारी तथा समुहका प्रतिनिधीहरुलाई बोका वितरण गरिएको थियो । एउटा बोकालाई २० हजारमा खरिद गरिएको जनाईएको छ । बोका वितरण गर्दै उपप्रमुख लामाले नगरपालिकाले प्रदान गरेको बोकाको सही सदुपयोग गर्दै व्यवसायिक रुपमा वाख्रापालनलाई विस्तार गर्न किसानहरुलाई आग्रह गरे । पशु सेवा शाखा प्रमुख भण्डारीका अनुसार वोयर जातबाट उत्पादन भएका खसी,बोका दैनिक २ सय ग्राम वढ्दछ । राप्तीमा व्यवसायिक फर्मको एकिन तथ्यांक नभएपनि करिव ३५ हजारको संख्या वाख्रा,खसी रहेको अनुमान छ ।